No Comment

कुटाई खानबाट धौ-धौ बाँचेका राजेश हमालले भने-‘नेपालीको बेइज्जत भयो’


बीबीसी मिडिया एक्सनको साप्ताहिक बहस कार्यक्रम साझा सवालमा सहभागी हुन सिरहा पुगेका महानायक राजेश हमाल गाउँले कुटाई खानबाट बचेका छन् ।
शनिबार सिराहाको धनगढी गाविस ३ नयनपूरमा महानायक हमाल स्थानीय डोम परिवारका युवक दिपक मलिकसँग गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध तथा आक्रोश पोखेका बेला कुटिनबाट बचेका हुन् ।
नायक राजेश हमालको साथमा हिड्दै दीपक जब इनारतर्फ खानेपानी भर्न लागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए ।
हमालले उनीहरुलाई इनारबाट पानी भर्न दिदा के हुन्छ भनेर प्रश्न गर्दा पुर्खादेखि डोमलाई ईनार छुन नदिएकाले अब पनि नदिने जवाफ पाएका थिए । त्यस्तो समयमा गाउँलेहरु आक्रोशसँगै कुट्न पनि तयार थिए । तर हमालले माथिल्लो जातका मानिसलाई पानी भरिदिन आग्रह गर्दै स्थिती सामान्य पार्न खोजे । यदि हमालले जबरजस्ती पानी भर्न लगाएको भए राजेश कुटिन्थे ।
महानायक राजेश हमालको फेसबुक स्ट्याटस् र तस्वीर ।
गाउँलेहरुको यस्तो व्यवहारपछि निराश हुँदै राजेश हमालले जीवनमा पहिलो पटक एक नेपालीले अर्काे नेपालीको बेइज्जत गरेको प्रत्यक्षदर्शी बन्दा ‘लज्जित’ बनाएको बताए ।
हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् । उनले लेखेका छन्-‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो ।’
साँझा सवाल कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, एमाओवादीका नेता लेखक आहुति र नायक हमाललाई सिरहा बोलाइएको थियो ।
No Comment

स्वर्गद्वारी मन्दिरबाट अपमानित भएर फर्के दलित दम्पत्ति

दाङ, २९ साउन । प्यूठानमा रहेको पवित्र धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा अपमानित भएर फर्केको छ एक दलित दम्पत्ति । दाङको त्रिपुर नगरपालिका– ६ सिस्नेरीका ३४ वर्षीय भीम नेपाली र उनकी श्रीमती बसन्ता नेपाली साउन २३ गते बिहान स्वर्गद्वारीबाट अपमानित भएर फर्केको घोराहीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।म्बष्तिछोरी सन्ध्या नेपाली ४ वर्षदेखि विरामी भइरहेको र ग्रहशान्ति गर्नुपर्छ भनेपछि आफूहरु स्वर्गद्वारी गएको बसन्ताले बताइन् । “हामी साउन २३ गते बिहान स्वर्गद्वारी मन्दिरमा पुग्यौं । पुजारीसमक्ष छोरीको ग्रहशान्ति गर्न आएका हौं भनेर बतायौं । त्यसपछि पुजारीले भित्र लगेर फेरि हेर्ने कि उतैबाट हेराएर आएको भनेर सोधे । हामीले उता हेराएका हौं यता पनि हेरिदिनुस् भन्यौं । पुजारीले पात्रो निकाल्नु भयो । नाम र ठेगाना सोध्नु भयो । हामीले नाम, ठेगाना र थर बताएपछि पुजारी झोंक्राउनु भयो र जुरुक्क उठेर जानु भयो”, बसन्ताले भनिन् । “फुर्सद छैन भनेर पुजारी हिडेपछि हामी लज्जित भयौं”, बसन्ताले थपिन्, “अपमानित पनि महसुस भयो ।”

बसन्ताका श्रीमान् भीम नेपालीका अनुसार पुजारी उठेर हिडेपछि गाई हेर्ने पण्डितलाई बोलाइदिएका थिए । गाई हेर्ने पण्डितले गाईको गोठतिर लगी त्यहाँ रहेको सानो मन्दिरमा पूजा गरिदिएको भीमको भनाई छ । गाई हेर्ने पण्डितले आफूहरुलाई धेरै सम्झाउने कोसिस गरेको बताउँदै बसन्ताले थपिन, “हामीले पनि धेरै सोधपुछ गर्यौं । प्रभु महाराजले भनेअनुसार गरेका हौं र समितिको निर्णय पनि यही छ भनियो । सार्वजनिक स्थलमा दलित भनेर अपमानित गर्ने पुजारीमाथि कानुनी कारवाही हुनुपर्छ ।” सबैले मूल मन्दिरमा पूजाअर्चना गरिरहेको र आफूहरुलाई गाईगोठमा भएको सानो मन्दिरमा लगेर पूजा गराउँदा रुन मन लागेको र पीडाले मन्दिरको प्रसादसमेत ग्रहण नगरेर फर्केको बसन्ताले बताइन् । उनको प्रश्न थियो, “धर्मनिरपेक्षताको विरोध गर्दै हिन्दूराष्ट्रको माग गर्ने तर एउटा दलित हिन्दू धर्मकै लाग पूजाअर्चना गर्न जाँदा विभेद किन ?

दलित अगुवा तथा एमाले नेता मानबहादुर विश्वकर्माले सार्वजनिक स्थलमा दलितलाई अपमानित गर्ने पुजारीमाथि कानुनी कारवाही हुनुपर्ने माग गरे । उनले आफूहरु दलित संघर्ष समितिको माध्यमबाट कानुनी प्रक्रियाबाट अगाडि बढ्ने जानकारी दिए । अर्का दलित अगुवा जनक नेपालीले बरु ग्रहशान्ति गरेको ४ हजार २ सय रुपैयाँ फिर्ता गरिदिने तर यो मुद्दालाई नउठाउन पुजारीबाट दवाव आएको जानकारी दिए ।

No Comment

गैरदलितसँग बिहेपछि दलित परिवारलाई धम्की

गणेश लम्साल
विराटनगर, २ भदौ 
कथित उपल्लो जातिसँग बिहे गर्ने दलित युवाका परिवारले आफूहरूलाई युवतीको परिवारले जेल हाल्ने धम्की दिएको गुनासो गरेका छन् । केटीका बाबु र आफन्तले केटाका दिदी–भिनाजुलाई यस्तो धम्की दिएका हुन् ।
दुई हप्ताअघि राजघाट–८ का २२ वर्षीय सञ्जीव घतानीले सिजुवा दाम्राभिट्टाकी एलिसा खत्रीसँग प्रेमविवाह गरी घरबाट भागेका थिए । तर, केटी पक्षले केटाका दिदी ख्यामकुमारी र भिनाजु रामबहादुरविरुद्ध चेलीबेटी बेचबिखन गराएको भन्दै प्रहरीमा उजुरी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गराई दुई दिन इलाका प्रहरी सिजुवाको हिरासतमा राखेको थियो । प्रहरीको सर्वत्र आलोचना भएपछि उनीहरूलाई मंगलबार छाडिएको छ ।
तर, प्रहरी कार्यालयमा नै केटी पक्षले सात दिनभित्र केटाकेटी खोजेर हाजिर नगराए मुद्दा लगाउने धम्की दिए । प्रहरीले पनि एक हप्ताभित्र केटाकेटी खोजेर ल्याउनुपर्ने सहमति गराएको छ । केटीका बाबु लोकबहादुर खत्री र उनका आफन्तले ७ भदौभित्र दुवैलाई खोजेर ल्याउन धम्की दिएका हुन् । प्रहरीकै मिलेमतोमा आफूहरूलाई मानसिक यातना दिएको पीडित परिवारले जनाएको छ ।
केटाकी दिदी ख्यामकुमारी र भिनाजु रामबहादुर सिजुवा गाविसस्थित दाम्राभिट्टामा मोटरसाइकल ग्यारेज सञ्चालन गर्छन् । उनीहरूले लोकबहादुर खत्रीकै घरमा भाडा लिएर मोटरसाइकल ग्यारेज चलाएका हुन् । सोहीकारण लोकबहादुरले केटी भगाएको आरोप लगाएको रामबहादुरले बताए । राजघाटका सञ्जीव घतानी पनि त्यही दिदी–भिनाजुकै ग्यारेजमा बसेर काम सिक्दै थिए । काम गर्ने क्रममा घरधनीकी छोरी एलिसा र सञ्जीवको मायाप्रेम बसेको थियो । उनीहरू साउन दास्रो साता बिहे गर्न घरबाट भागेका थिए ।
‘केटा र केटी एकअर्कालाई मनपराउँदा रहेछन्, अब उनीहरू भागेर कहाँ गए हामीले कसरी थाहा पाउनु र खोजेर ल्याउनु ?’ भिनाजु रामबहादुरले भने । झुटो आरोपमा प्रहरी हिरासतमा समेत थुनिएका उनीहरू हाल सात दिनको म्यादभित्र केटाकेटी फेला नपरेमा सधैँका लागि जेल जानुपर्ने त्रासमा छन् । घटनाबारे जानकारी पाएपछि दलित कल्याण संघ मोरङका कार्यक्रम संयोजक अमर बराइली र राष्ट्रिय दलित अयोग मानवअधिकार रक्षक किरण बराइली घटना अध्ययनका लागि ३२ साउनमा सिजुवा पुगेका थिए । तर, दर्जनौँ गाउँलेले आफूहरूलाई पनि जातीय गाली–गलौज गर्दै अपमान गरेको अमरले बताए ।
इप्रका सिजुवाका इन्स्पेक्टर बाबुराम पोखरेलले दलित केटा र गैरदलित समुदायकी केटी विवाह गरेर गएको र उनीहरूको खोजीका लागि केटाका दिदी–भिनाजुलाई अप्रत्यक्ष दबाब दिएको बताए । उनले भने, ‘प्रहरीले कुनै मुद्दा लगाएको छैन र लगाउँदैन, केटा र केटीका आफन्तले छलफल गरेर त्यस्तो सहमति बनाएका हुन् ।’ उनका अनुसार केटीको बिहे गर्ने उमेर नपुगेको भन्दै आफन्तले चेलीबेटी बेचबिखन र अपहरणमा मुद्दा दर्ता गराउन प्रहरीलाई दबाब दिइरहेका छन् ।

-नयाँ पत्रिका
No Comment

गजल

तिमी अन्दाज गर्दछौ शरिर हेरेर
बरु सक्छौ भने जाउ पीर हेरेर
उसलाई भित्र पस्न निषेध गरियो 
फर्कियो मन्दिर हेरेर
म बदल्न सक्दिन अहँ सक्दिन
के नै गर्नु छ र ? यो तकदिर हेरेर
उ भोली पनि यसरी नै बाच्नेछ
जसरी बाचेको छ आज तस्बिर हेरेर ।
–भावना पाठक
भरतपुर,चितवन
No Comment

अरुसँग बोल्दा जातको खुलासा होला कि भन्दै संयमता अपनाउनुपर्छ


रन्जिता विश्वकर्मा

आफ्नै घटनाबाट सुरु गर्छु । त्यतिबेला म कक्षा चारमा पढ्थें । स्कुलनजिकैको एउटा पसलमा पानी पिउँदै गर्दा मलाई नचिनेर साहुनीले सोधेकी थिइन्, यी नानी को हुन् ? उत्तरमा मसँगै आएकी साथीले बताइदिएकी थिई, ’ऊ बालकृष्ण सरकी छोरी हो ।’ यथार्थ थाहा पाएपछि साहुनी एकाएक आक्रोशित हुनपुगिन् र जुन गाग्रीबाट मैले पानी सारेर पिएकी थिएँ, त्यही गाग्रीको पानी मेरो शरीरभरि खन्याइन् । थपिन्, ‘अर्काले ढाड भाँची भाँची ल्याएको पानी छुन लाज लाग्दैन ? लौ खा !’ त्यसपछि उनको क्रूर व्यवहार र कडा गाली खाएपछि म डाँको छोडेर रुन थालेछु ।

मेरो बालमस्तिष्क हुर्किँदै गएपछि थाहा लाग्दै गयो : म त अछूत पो रहेछु । म दलित र उच्च जातकी साहुनीमा फरक छ भनेर मलाई समाजले पाठ पढाउँदै गयो र म बारम्बार सामाजिक हेपाइ सहन अभिशप्त भएँ । मलाई ती व्यक्तिहरुप्रति घृणा छ, जसको दिमागमा दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन, गर्ने व्यबहारमा कमी आयको छैन, उही गैरदलित । जति उनीहरुले दलित भएकै कारण घृणा गर्छन्, म त्योभन्दा दोब्बर घृणा गर्छु उनीहरुलाई । कहिलेकाहीँ त लाग्छ, म एउटा रंगकर्मी हुँ, जातीयताको रंगमंचमा फरक समाजमा एउटा नाटक गर्दै छु ।

हो, म दलित भएर पनि गैरदलित भएको नाटक गर्दै छु । विशेष गरी यो काठमाण्डुमा गैरदलित भएको नाटक गर्दै छु, ठाउँपिच्छे पहिचान फेर्दै बाँच्नुपरेको छ । यो जातीयताले ग्रसित दीर्घरोगी भएको समाजमा खुब भेदभाव भोगेँ मैले र भोग्दै छु पनि । उही दलित भएकै कारण मानहानि भयो, सामान्य मानिसको दर्जाबाट तल खस्किनुपर्यो । धारामा होस् या मन्दिरमा, भोज भतेरमा होस् या मेलापातमा या मृत्युकार्यमा किन नहोस् ! स्कुल, कलेज, सार्वजनिक ठाउँ, सभा अनि सम्मेलन जताततै मैले अमानवीय व्यवहार खप्नुपरेको छ ।

साथीभाइसँगको जमघट यत्रतत्र देखियो, भोगियो । हरेक ठाउँले मेरो दलित पहिचानको वकालत गर्यो । मतलब म कुनै ठाउँमा पनि घृणाबाट अछूतो भइनँ । चाहे प्रत्यक्ष होस् या अप्रत्यक्ष । हजुरबुबा, बुबाहरु आफ्ना पालामा चरम विभेद भोगेको कथा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो सुनाउनुहुन्थ्यो । हो, म पनि त्यही भोग्दै छु कि सायद अंशस्वरूप । अझै मेरा छोराछोरीले पनि तिनै घटनाहरु नभोग्लान् भन्न सक्दिनँ ।

काठमाण्डुमा कोठा नपाउनुको पीडा त छुट्टै छ । म मात्र हैन यहाँ हज्जारौँ छन्, हरेक ठाउँमा बोल्दा होस् या जे काम गर्दा होस्, जातको खुलासा होला कि भन्दै निक्कै संयमित भएर बोल्नुपर्छ । कारण, उही मानहानि, उही इज्जत प्रतिष्ठा उही सम्मान । अरुमाझ आफ्नो पहिचान खुलस्त दिन नपाएकोमा भित्र भित्र क्रोध र जलन एकैसाथ हुन्छ । यहाँ छुवाछूतविना अछूतो समाज कुन छ र ? कानुनीरुपमा अन्त्य भएको भनिए पनि व्यावहारिक रुपमा अझै हटेको छैन । सदियौँदेखि मानिस मानिसबीच ऊँचनीचको भावना सृजना गर्ने हिन्दूधर्मले समाज टुक्रा टुक्रा परेको छ । यदि यही व्यवस्थाको निरन्तरता रहिरहने हो भने समाज निश्चय नै जातीय विभेदको ज्वालाले विस्फोट हुनसक्दछ, मेरो विचारमा हिन्दूधर्म परिमार्जन हुनुपर्दछ ।

hulaaki.com
No Comment

उसो भए हामी सबै दलित' - राजेश हमाल

साउन ,३० । फिल्म सुटिङ टिमकै एकजना साथीले उनलाई सुटुक्क कानमा फुके, ‘यो त दलितको घर हो नि, किन खाको ?’ त्यसपछि राजेशले गाईगुँइको अर्थ बुझेछन् । उनले मुस्कुराउँदै भने ‘ला मैले त खाईसकें अब के हुन्छ होला ?’ राजेशको प्रश्नको जवाफ कसैले दिन सकेनन् ।
यस्ता घटनाहरु सुनाएर राजेश आफ्नो निश्कर्ष सुनाउँछन्, ‘यसैले कथित दलित समुदायमाथि गरिने विभेदमा कुनै ‘लजिक’ छैन ।’ सोमबार आफ्नै निवास कपुरधारामा राजेशले सुटिङका क्रममा देखेका र अनुभव गरेका यस्ता क्षणबारे सुनाए ।
राजेश फिल्मको चम्किलो दुनियाभन्दा पर रहेको समाजको यर्थाथमा पनि प्रवेश गर्न चाहन्छन्, जहाँ एउटा हिरोले पाखुरीको बलमा समाज परिवर्तन गर्न सक्दैन । राजेशको फिल्ममा धेरैपटक यस्ता भूमिकामा अभिनय गरेका छन् । उनी भन्छन् पनि, ‘मलाई स्टार बनाउने काम मजदुर र गरिब कमजोर वर्गले गरेको हो ।’ उनले धेरै फिल्ममा तिनका मुक्तिदाता वा नायकका रुपमा अभिनय गरेका छन् । गत साता सिरहाका दिपक मल्लीकसँग एक घन्टा बिताउँदा राजेशले दलितको परिभाषा र त्यसको मर्म बेग्लै ढंगले बुझेको बताए ।

‘त्यहाँ दलितमाथि मात्रै विभेद भएको थिएन, विभेद गर्नेहरु पनि कुसंस्कारबाट पीडित थिए,’ उनले भने ‘संकृण मानसिकताबाट समाज नै सिकार भएको छ ।’
दलित हुनुको कारणका रुपमा प्राय: गरिबी, अशिक्ष र अज्ञानलाई देखाइन्छ । यी तीन पक्षलाई दलित हुनुको कारण मान्ने हो भने सबै नेपाली दलित भएको धारणा उनी राख्छन् । ‘देश गरिब छ, मागेर पालिनु परेको छ, पहिचान गुमेको छ, पार्सपोर्ट पाउनुमा विभेद छ, शिक्षा, रोजगार सबैमा हाम्रो देश पछि छ,’ राजेशले हाँस्दै भने, ‘उसो भए हामी सबै दलित ।’
समाजमा दलित समुदायमाथि गरिने विभेदको कुनै तर्क छैन भन्ने मान्यता राजेश राख्छन् । आफूले अभिनय गरेका चलचित्रका पात्रमा उनी गरिब र दलित एवं अधिकारको खोजी गर्ने नायकका रुपमा चिनिन्थे । तिनै विद्रोही भूमिकाका कारण उनलाई गाउँका निरक्षरले पनि राजेश हमाल भनेर चिन्ने गर्छन् ।
विभेद मानसिक रोग हो । अमेरिकामा गरिएको कला र गोराबीचको अन्तरमा रंगको तर्क थियो । तर, उस्तै उही अनुहार र जीवनस्तर समेत उस्तै छ भने त्यहाँ कसरी विभेद हुन्छ ? कथित दलितको सन्र्दभमा ठुलो अन्याय हो । उनी भन्छन्, ‘जहाँ स्वार्थ लुकेको हुन्छ, त्यहाँ विभेद झल्किन्छ ।’ यसको उदाहरण राजेशले आफ्नै फिल्म सुटिङको प्रसंग सुनाएर दिए ।

राजेशको कुनै फिल्मको दलितको घरमा सुटिङ भइरहेको थियो । मानिसबाट टाढैबाट सुटिङ हेरिरहेका थिए, फोटो खिचिरहेका थिए । घरसम्म कोही आएका थिएनन् । अर्को दृश्य घरभित्रको थियो । राजेशसहित पूरै युनिट घरभित्र छिर्‍यो । त्यसपछि विस्तारै सुटिङ हेर्ने र फोटो खिच्नेहरु पनि घरभित्रै आए । ‘फोटो खिच्ने धुनमा दलितको घर भनि उनीहरुले बिर्सिए,’ राजेशले भने, ‘त्यो स्वार्थ होइन त ?’
एक्काइसौं शताब्दिमा कुनै जाति, वंश वा क्षेत्रमा जन्मिएका कारण मानिसलाई विभेद गरिनु समाजका लागि ठूलो लज्जा भएको राजेश बताउँछन् । उनी अमेरिकामा रंगभेदको उदाहरण दिन्छन् । ‘मैले अमेरिकामा हुने विभेद र रंगभेदबारे पढेको छु,’ उनी भन्छन्, ‘विभेद अमेरिकामा पनि बाँकी छ, कालो जातिका बाराका ओबामा राष्ट्रपति बन्दा पनि अझै बाँकी छ । तर यसको मतलब त्यो कुनै दिन सकिदैन वा कायम राख्नुपर्छ भन्ने होइन ।’

‘अमेरिकाको सार्वजनिक यातायातमा काला र गोराका लागि बेग्ला बेग्लै सिट छुट्याइएको हुन्थ्यो । एक दिन एक कालो रंग भएकी महिला गोराको सिटमा गएर बसिन् । उनलाई उठाउन खोजियो तर कुनै हालतमा उनी डेग चलिनन् । त्यही एक जना महिलाको अडानले अमेरिकी समाजमा हलचल ल्याइदियो, एकजनाको अडानले कानुन परिवर्तन गर्नुपर्ने भयो,’ राजेश भन्छन्, ‘यसैले कसैको एउटा अडानले पनि परिवर्तन ल्याउन सक्छ ।’
उनलाई नेपाली समाजमा पनि परिवर्तन आइरहेको छ भन्ने लाग्छ । ‘तर, त्यो अझै पुग्दो छैन,’ उनी भन्छन् ।
कुनै पनि किसिमका मानवीय विभेद हटाउनका लागि अब समाजको सबै पक्ष जागरुक हुनुपर्ने उनी ठान्दछन् । ‘आज दलितले भोगेको समस्या दलितको मात्रै होइन, यो नेपालको समस्या हो । जबसम्म हाम्रो समाजमा यस्ता विभेद रहन्छन् यसको असर पूरै समाजमा रहन्छ ।’

-कान्तिपुर दैनिक बाट
No Comment

अन्तरजातीय विवाहको पीडा : जिउदो हुन्जेल सबैले घृणा गरे : मरेपछि शव बोक्न कोही आएनन


मणिलाल विश्वकर्मा / लहान, १४ असोज – छिमेकीलाई जिउँदाको जन्ती र मर्दाका मलामी भन्छन् । दैनिक व्यवहारमा छिमेकीसँग सामान्य विवाद भए पनि अप्ठ्यारो परेका बेला आपसमा सहयोग गर्ने नेपालीको संस्कार नै हो । सिरहाको धनगढी गाविस–८ मुसहर्नियाका किसुन साफीले भने मृत्युपछि काँधसमेत पाउन सकेनन् ।
अन्तर्जातीय विवाह गरेको भन्दै आफन्तबाट घर निकाला गरिएका किसुनको शव मृत्यु भएको करिब १६ घन्टासम्म पनि स्थानीय छरछिमेकले घाटसम्म पु¥याउन अस्वीकार गरेपछि श्रीमती र बुहारी दाहसंस्कार गर्न बाध्य भए ।
मृतककी श्रीमती चमार जातकी भए पनि स्थानीय चमार अगुवाले ‘धोबीसँग विवाह गरेकीले हामी छुँदैनौ’ भनेपछि सासूबुहारी मिलेर दाहसंस्कार गर्न बाध्य भएका हुन् ।
सोमबार दिउँसो घरमै निधन भएका उनको स्थानीय चमार अगुवाले निधन भएको भोलिपल्टसम्म पनि ‘हाम्रो जातको नभएकाले मलामी जाँदैनौ’ भनेपछि रिक्सामा शव राखेर घाटसम्म पु¥याई दाहसंस्कार गरिएको स्थानीय गाउँले बताउँछन् ।
सासूबुहारी मिलेर गरिएको दाहसंस्कारपछि पनि मृतकका नाममा गरिने भोजका विषयमा कचिङ्गल भइरहेको छ । चमारको जातीय संस्कारअनुसार मृत्यु भएको चार, ११, १२ र १३ औँ दिनमा गाउँले र आफन्तलाई भोज खुवाउनुपर्ने भए पनि चमार अगुवाले भोजमा सामेल हुँदैनौ भन्दै मृतक परिवारलाई थप मानसिक यातना दिइरहेका छन् ।
स्थानीय जवाहर (चमार समुदायका टोलस्तरीय प्रमुख) सञ्चय महरासहित चमार अगुवा र स्थानीय गाउँलेसँग बुधबार अधिकारकर्मी र पत्रकारको टोलीले छलफल गरेको थियो । छलफलपछि चमार अगुवाहरू जातीय परम्पराअनुसार मृत्यु संस्कारअन्तर्गत गरिने कर्म गर्न सघाउन तयार भएका छन् ।
मृतकका एक्लो छोरो मागैन रामसमेत वैदेशिक रोजगारीका क्रममा डेढ वर्षदेखि कतारमा छन् । मृतकले चमार युवतीसँग अन्तर्जातीय विवाह गरेलगत्तै घरबाट निकालिएपछि पछिल्लो २५वर्षदेखि मुसहर्नियास्थित ससुराली गाउँमै छुट्टै घर बनाएर बस्दै आएका थिए ।

purbelinews.com

Blog Archive

Blogger templates