महोत्तरी, साउन १४ – ‘हाम्रो भेटघाट भएको ६ दिन मात्र भयो । फोनमा कुरा भने पहिल्यैदेखि हुन्थ्यो । बगाले थापाकी छोरी हुँ भन्थी । हामी दुवैले एक अर्काको अनुहार देखेका थिएनौं । फोनमा कुरा गर्दा मन पर्यो । मैले विवाह गरौं, सँगै बसौं भनें । उसले पनि हुन्छ भनी । हामी भाग्यौं । तर बुझ्दै जाँदा यो त बिक पो रैछे । पछि थाहा भयो । अब म कुनै पनि हालतमा यसलाई विवाह गरेर घरमा भित्र्याउन सक्दिन’ सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा भएको छलफलमा दलित युवतीबाट आफूलाई छुटकारा दिन एक युवक समाज र प्रशासनलाई आग्रह गर्दै थिए । तर सँगै रहेकी युवती भने युवकले झुट बोेलिरहेको भन्दै उसको कुरा नपत्याउन भन्दै थिइन् ।
‘घरबाट भाग्नु अघि नै मैले म बिककी छोरी हुँ, पछि तल्लो जातकी भनेर यस्तो उस्तो भन्न पाउनु हुन्न भनेकी थिएँ’ युवतीले युवकतिर आँखा तर्दै भनिन् ‘मैले यसलाई म बगाले थापा हो भनेकै छैन । यो झुट बोल्दैछ । यसले मलाई जातभातको मतलब छैन, प्रेममा जातभात हुँदैन, तिमी भए मलाई पुग्यो, मैले घरमा आमाबुवासँग कुरा गरिसकेको छु, तिमीलाई घर लगेर भित्राउन मलाई कुनै समस्या छैन भनेर फकायो, अनि मात्र म उसँग भागेकी हुँ ।’
सर्लाहीको हरिवन नगरपालिका २ निबासी १७ वर्षिय हिमाल कार्की र हरिवन ३ निबासी १८ वर्षिया बिना विक आफूहरुबीचको प्रेम सम्बन्ध र भागी विवाहबारे समाज र प्रशासनलाई स्पष्टीकरण दिंँदै थिए । कसैले दिएको मोवाइल नम्बरमा सामान्य कुराकानी भएकै भरमा एक अर्कालाई मन पराएका उनीहरु यहि साउन ६ गते घर छाडेर भागेका थिए ।
तर एकअर्काबाट कहिल्यै नछुट्टिने, जीवनभरी सँगै बाँच्ने सँगै मर्ने कसम खाएर भागेका उनीहरुको प्रेम सम्बन्ध भने एकहप्ता पनि टिकेन । आफन्तको र आफ्नो घरमा गरेर ६ दिनसम्म युवतीलाईसँगै राखेका कार्कीले जब युवती दलित भएको थाहा पाए, तब घरबाट निकाले । युवती पनि के कम, उनी न्याय खोज्दै प्रहरी कार्यालय पुगिन् ।
इलाका प्रहरी कार्यालय हरिवनले दुबै पक्षलाई छलफलमा बोलायो । छलफलमा सहभागी सबैले जातको आधारमा युवतीलाई घर निकाला गर्न नपाईने भनेर दबाब दिएपछि युवक आफूले मन पराएकी दलित युवतीलाई फेरि घर भित्र्याउन बाध्य भएका छन् । प्रशासनिक र सामाजिक दबाबपछि युवकले युवतीलाई घर भित्राउने, आइन्दा कुनै पनि प्रकारको भेदभाव नगर्ने भने पनि उनीहरुको सम्बन्ध लामो समय टिक्नेमा सबैलाई शंका छ ।
छलफलमा सहभागी इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शेरबहादुर चन्दले युवायुवती दुबैको विवाह गर्ने उमेर नपुगे पनि दलित र गैर दलितबीचको अप्ठ्यारो माम्लो भएकाले दुवैैलाई सँगै बस्न आग्रह गरिएको बताउनुभयो । ‘हामीले केटा पक्षलाई दलित भएकै आधारमा युवतीलाई भेदभाव नगर्न सम्झाएका छौं’, चन्दले भन्नुभयो । तर उनीहरुको सम्बन्ध कति टिक्छ, कसैलाई थाहा छैन ।
0 Comments