कात्तिक ८, मकवानपुर । सदियौदेखि नेपाली समाजमा विद्यमान जातीय छुवाछुत अन्त्य गर्न मकवानपुरको थाहा नगरको ओखरबजारमा किशोर किशोरीहरुले दशैको अवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न गरेकाछन् ।समाजमा दलित समुदायलाई गैर दलित समुदायले गर्ने विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणकालागि सामुहिक टिका आयोजना गरिएको हो । थाहा नगरको ओखरबजारको दीपज्योति किशोरी संवाद केन्द्रको आयोजनामा भएको कार्यक्रममा संवाद सहयोग समिति संयोजक थकुमाया प्रधान तथा समितिका सदस्यहरु राजनमाया प्रधान, रेणुका प्रधान र राधिका प्रधान र स्थानीय समाजसेवी विमलकुमार ढकाल, रीता प्रधान तथा अच्युतमप्रसाद ढकालको हातवाट स्थानीय दलित र गैर दलित किशोर किशोरीले सामुहिक रुपमा टिका जमरा र आशिष थापेका हुन् ।
विगतमा दलित भनेर छुन नहुने, उनीहरुले छोएको खान नहुने र घर भित्र पसाउन नहुने भनेर विभेद गरिने दलित समुदायलाई पनि विना भेदभाव सबैसंग राखेर टिका लगाउने र खानपिन गर्ने कार्य भएपछि खुसी लागेको सफलता नेपालीले बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी हुनुभएका बिनीसा अमात्यले पनि दलित साथीहरुलाई आफूहरुसंग संगै राखेर टिका लगाउने र खानपिन गराउने कार्यमा सहयोग गरेको प्रति संवाद सहयोग समितिलाई धन्यवाद दिनूभयो । कार्यक्रम संवाद परियोजना अधिकृत कमलकुमार विश्वकर्मा, फिल्ड सुपरभाइजर रुपा सुनारको पनि उपस्थिती रहेको थियो ।
यस्तो कार्यक्रम आगामि दिनमा पनि निरन्तरता दिनूपर्ने इन्द्रायणी संवाद सहयोग समितिका संयोजक सिताराम बयलकोटीले बताउनुभयो । कार्यक्रममा स्मृति किशोरी संवाद केन्द्र, सृजनशील किशोर संवाद केन्द्र र इन्द्रायणी किशोरी संवाद केन्द्रका किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
sajhasabal.com
0 Comments