पढाइ छोडेर विहे गर्दै स्कुले बालबालिका

राजेन्द्र कार्की/उज्यालो । जाजरकोट, कात्तिक ९ – जाजरकोट भुर–७ भुरचौरकी गीता परियार १४ वर्ष पनि पुगेकी छैनन् । तर उनी गर्भवती छिन् । स्कुल पढ्ने उमेरकी गीता केही महिनामै आमा बन्दै छिन् । ८ कक्षामा पढ्दा पढ्दै १३ वर्षकै उमेरमा विहे गरेकी गीताले पढाइ छोडिसकेकी छन् ।
‘विहे भएपछि पनि पढौंला भन्ने लागेको थियो तर अहिले घरको काम धन्दाले पढ्नै पाइएन’ विहेका कारण पढ्न नपाउको दुखेसो पोख्दै गीताले भनिन् । आफ्नै कक्षामा पढ्ने गणेश परियारसँग गएको माघ महिनामा प्रेम विवहा गरेकी गीताले प्रेम र विवहाले गर्दा पढाइ छोड्नु परेको बताइन् ।
गीताले भनिन् ‘पहिले पढाइ भन्दा ठूलो माया र विहे लाग्यो, अहिले पढ्न मन लागे पनि पढ्न सकिएन ।’ गीता जस्तै भुर–८ आलीकी पार्वती बुढाले पनि दुइ वर्ष अघि ९ मा पढ्दा पढ्दै विहे गरिन् । अहिले उनीसँग एक वर्षको छोरा छ । पार्वतीले पनि विहे पछि पढाइ छोडिसकेकी छन् । सँगै पढ्ने डीलबहादुर बुढासँग विहे गरेकी पार्वतीले घरको काम धन्दा र छोराको स्याहार गर्न परेकाले पढाइ छोड्न बाध्य भइन् । ‘पढ्ने बेला माया प्रेम र विहे नै सबै थोक देखियो । अहिले न पढ्न सकिन्छ न यो दुःखबाट टाढिन सकिन्छ ।’ पार्वतीले पढाइ छोडेकोमा पछुतो मान्दै भनिन् । गीता र पार्वतीको जस्तै अवस्था भुरचौरकी सरीता रानाको पनि छ । २ वर्ष अघि १४ वर्षकै उमेरमा १० कक्षामा पढ्दा पढ्दै विहे गरेकी सरीता पनि पढ्ने लेख्ने उमेरमा घर धन्दाले हैरान छिन् ।
एकातिर सानो काखे नानीको स्याहारको चिन्ता अर्काेतिर घर धन्दाको कामले उनलाइ पढ्ने लेख्ने र अरु कुराको कुनै वास्ता गर्ने फुर्सद नै छैन । ‘अहिले आएको वुद्धी पहिले आएन अब के गर्नु यही घर धन्दामा रमाएर घरबार चलाउने हो’ सरीताले भनिन् । यी सबै जिल्लाको बाल विवहाका प्रतिनिधिपात्रहरु मात्र हुन् । जिल्लामा व्याप्त गरिबी,अशिक्षा र परम्परागत मुल्य मान्यताका कारण सानैमा विहे गर्ने चलन भएकाले धेरै बालबालिकाहरु विद्यालयबाट पढाइ छोड्न बाध्य छन् ।
राष्ट्रिय जनगणना अनुसार जिल्लामा १० वर्षमुनि विवहा गर्ने बालकको संख्या ३४ तथा बालिकाको संख्या १ सय ३१ छ । यसैगरी १० देखि १४ वर्षको उमेरसम्ममा विहे गर्ने बालकको संख्या ९ सय ८३ र बालिकाको संख्या ४ हजार ६ सय ८५ छ । १४ वर्षदेखि १९ वर्षको उमेरसम्म विहे गर्ने बालकको संख्या १७ हजार ४ सय ७१ र बालिकाको संख्या २६ हजार ५ सय ५८ रहेको छ । तथ्यांक अनुसार कुल बालबालिकाको संख्या मध्ये ६५ प्रतिशत बालबालिकाले कम उमेरमै विवहा गर्ने गरेका छन् ।
जसमा ३७ दशमलव १३ प्रतिशत बालक र ६२ दशमलव ८७ प्रतिशत बालिका छन् । जिल्लामा बालविवहा र अन्य कारणले विद्यालयको पढाइ छोड्ने दर ६ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ । भुर–७ की महिला स्वास्थ्य स्वयमसेविका नानकला शाही सानैमा प्रेम गर्ने र मोवाइल फोनको दुरुपयोगका कारण बालविवहा बढेको बताउनुहुन्छ ।

ujyaaloonline.com

avatar
AUTOR: FIAN MT
I'm just a beginner blogger who tried to learn things related to coding which always appears in front of the eye

0 Comments

Blog Archive

Blogger templates