अन्तरजातीय विवाहको पीडा : जिउदो हुन्जेल सबैले घृणा गरे : मरेपछि शव बोक्न कोही आएनन
मणिलाल विश्वकर्मा / लहान, १४ असोज – छिमेकीलाई जिउँदाको जन्ती र मर्दाका मलामी भन्छन् । दैनिक व्यवहारमा छिमेकीसँग सामान्य विवाद भए पनि अप्ठ्यारो परेका बेला आपसमा सहयोग गर्ने नेपालीको संस्कार नै हो । सिरहाको धनगढी गाविस–८ मुसहर्नियाका किसुन साफीले भने मृत्युपछि काँधसमेत पाउन सकेनन् ।
अन्तर्जातीय विवाह गरेको भन्दै आफन्तबाट घर निकाला गरिएका किसुनको शव मृत्यु भएको करिब १६ घन्टासम्म पनि स्थानीय छरछिमेकले घाटसम्म पु¥याउन अस्वीकार गरेपछि श्रीमती र बुहारी दाहसंस्कार गर्न बाध्य भए ।
मृतककी श्रीमती चमार जातकी भए पनि स्थानीय चमार अगुवाले ‘धोबीसँग विवाह गरेकीले हामी छुँदैनौ’ भनेपछि सासूबुहारी मिलेर दाहसंस्कार गर्न बाध्य भएका हुन् ।
सोमबार दिउँसो घरमै निधन भएका उनको स्थानीय चमार अगुवाले निधन भएको भोलिपल्टसम्म पनि ‘हाम्रो जातको नभएकाले मलामी जाँदैनौ’ भनेपछि रिक्सामा शव राखेर घाटसम्म पु¥याई दाहसंस्कार गरिएको स्थानीय गाउँले बताउँछन् ।
सासूबुहारी मिलेर गरिएको दाहसंस्कारपछि पनि मृतकका नाममा गरिने भोजका विषयमा कचिङ्गल भइरहेको छ । चमारको जातीय संस्कारअनुसार मृत्यु भएको चार, ११, १२ र १३ औँ दिनमा गाउँले र आफन्तलाई भोज खुवाउनुपर्ने भए पनि चमार अगुवाले भोजमा सामेल हुँदैनौ भन्दै मृतक परिवारलाई थप मानसिक यातना दिइरहेका छन् ।
स्थानीय जवाहर (चमार समुदायका टोलस्तरीय प्रमुख) सञ्चय महरासहित चमार अगुवा र स्थानीय गाउँलेसँग बुधबार अधिकारकर्मी र पत्रकारको टोलीले छलफल गरेको थियो । छलफलपछि चमार अगुवाहरू जातीय परम्पराअनुसार मृत्यु संस्कारअन्तर्गत गरिने कर्म गर्न सघाउन तयार भएका छन् ।
मृतकका एक्लो छोरो मागैन रामसमेत वैदेशिक रोजगारीका क्रममा डेढ वर्षदेखि कतारमा छन् । मृतकले चमार युवतीसँग अन्तर्जातीय विवाह गरेलगत्तै घरबाट निकालिएपछि पछिल्लो २५वर्षदेखि मुसहर्नियास्थित ससुराली गाउँमै छुट्टै घर बनाएर बस्दै आएका थिए ।
purbelinews.com
0 Comments