साउन ,३० । फिल्म सुटिङ टिमकै एकजना साथीले उनलाई सुटुक्क कानमा फुके, ‘यो त दलितको घर हो नि, किन खाको ?’ त्यसपछि राजेशले गाईगुँइको अर्थ बुझेछन् । उनले मुस्कुराउँदै भने ‘ला मैले त खाईसकें अब के हुन्छ होला ?’ राजेशको प्रश्नको जवाफ कसैले दिन सकेनन् ।
यस्ता घटनाहरु सुनाएर राजेश आफ्नो निश्कर्ष सुनाउँछन्, ‘यसैले कथित दलित समुदायमाथि गरिने विभेदमा कुनै ‘लजिक’ छैन ।’ सोमबार आफ्नै निवास कपुरधारामा राजेशले सुटिङका क्रममा देखेका र अनुभव गरेका यस्ता क्षणबारे सुनाए ।
राजेश फिल्मको चम्किलो दुनियाभन्दा पर रहेको समाजको यर्थाथमा पनि प्रवेश गर्न चाहन्छन्, जहाँ एउटा हिरोले पाखुरीको बलमा समाज परिवर्तन गर्न सक्दैन । राजेशको फिल्ममा धेरैपटक यस्ता भूमिकामा अभिनय गरेका छन् । उनी भन्छन् पनि, ‘मलाई स्टार बनाउने काम मजदुर र गरिब कमजोर वर्गले गरेको हो ।’ उनले धेरै फिल्ममा तिनका मुक्तिदाता वा नायकका रुपमा अभिनय गरेका छन् । गत साता सिरहाका दिपक मल्लीकसँग एक घन्टा बिताउँदा राजेशले दलितको परिभाषा र त्यसको मर्म बेग्लै ढंगले बुझेको बताए ।
‘त्यहाँ दलितमाथि मात्रै विभेद भएको थिएन, विभेद गर्नेहरु पनि कुसंस्कारबाट पीडित थिए,’ उनले भने ‘संकृण मानसिकताबाट समाज नै सिकार भएको छ ।’
दलित हुनुको कारणका रुपमा प्राय: गरिबी, अशिक्ष र अज्ञानलाई देखाइन्छ । यी तीन पक्षलाई दलित हुनुको कारण मान्ने हो भने सबै नेपाली दलित भएको धारणा उनी राख्छन् । ‘देश गरिब छ, मागेर पालिनु परेको छ, पहिचान गुमेको छ, पार्सपोर्ट पाउनुमा विभेद छ, शिक्षा, रोजगार सबैमा हाम्रो देश पछि छ,’ राजेशले हाँस्दै भने, ‘उसो भए हामी सबै दलित ।’
समाजमा दलित समुदायमाथि गरिने विभेदको कुनै तर्क छैन भन्ने मान्यता राजेश राख्छन् । आफूले अभिनय गरेका चलचित्रका पात्रमा उनी गरिब र दलित एवं अधिकारको खोजी गर्ने नायकका रुपमा चिनिन्थे । तिनै विद्रोही भूमिकाका कारण उनलाई गाउँका निरक्षरले पनि राजेश हमाल भनेर चिन्ने गर्छन् ।
विभेद मानसिक रोग हो । अमेरिकामा गरिएको कला र गोराबीचको अन्तरमा रंगको तर्क थियो । तर, उस्तै उही अनुहार र जीवनस्तर समेत उस्तै छ भने त्यहाँ कसरी विभेद हुन्छ ? कथित दलितको सन्र्दभमा ठुलो अन्याय हो । उनी भन्छन्, ‘जहाँ स्वार्थ लुकेको हुन्छ, त्यहाँ विभेद झल्किन्छ ।’ यसको उदाहरण राजेशले आफ्नै फिल्म सुटिङको प्रसंग सुनाएर दिए ।
राजेशको कुनै फिल्मको दलितको घरमा सुटिङ भइरहेको थियो । मानिसबाट टाढैबाट सुटिङ हेरिरहेका थिए, फोटो खिचिरहेका थिए । घरसम्म कोही आएका थिएनन् । अर्को दृश्य घरभित्रको थियो । राजेशसहित पूरै युनिट घरभित्र छिर्यो । त्यसपछि विस्तारै सुटिङ हेर्ने र फोटो खिच्नेहरु पनि घरभित्रै आए । ‘फोटो खिच्ने धुनमा दलितको घर भनि उनीहरुले बिर्सिए,’ राजेशले भने, ‘त्यो स्वार्थ होइन त ?’
एक्काइसौं शताब्दिमा कुनै जाति, वंश वा क्षेत्रमा जन्मिएका कारण मानिसलाई विभेद गरिनु समाजका लागि ठूलो लज्जा भएको राजेश बताउँछन् । उनी अमेरिकामा रंगभेदको उदाहरण दिन्छन् । ‘मैले अमेरिकामा हुने विभेद र रंगभेदबारे पढेको छु,’ उनी भन्छन्, ‘विभेद अमेरिकामा पनि बाँकी छ, कालो जातिका बाराका ओबामा राष्ट्रपति बन्दा पनि अझै बाँकी छ । तर यसको मतलब त्यो कुनै दिन सकिदैन वा कायम राख्नुपर्छ भन्ने होइन ।’
‘अमेरिकाको सार्वजनिक यातायातमा काला र गोराका लागि बेग्ला बेग्लै सिट छुट्याइएको हुन्थ्यो । एक दिन एक कालो रंग भएकी महिला गोराको सिटमा गएर बसिन् । उनलाई उठाउन खोजियो तर कुनै हालतमा उनी डेग चलिनन् । त्यही एक जना महिलाको अडानले अमेरिकी समाजमा हलचल ल्याइदियो, एकजनाको अडानले कानुन परिवर्तन गर्नुपर्ने भयो,’ राजेश भन्छन्, ‘यसैले कसैको एउटा अडानले पनि परिवर्तन ल्याउन सक्छ ।’
उनलाई नेपाली समाजमा पनि परिवर्तन आइरहेको छ भन्ने लाग्छ । ‘तर, त्यो अझै पुग्दो छैन,’ उनी भन्छन् ।
कुनै पनि किसिमका मानवीय विभेद हटाउनका लागि अब समाजको सबै पक्ष जागरुक हुनुपर्ने उनी ठान्दछन् । ‘आज दलितले भोगेको समस्या दलितको मात्रै होइन, यो नेपालको समस्या हो । जबसम्म हाम्रो समाजमा यस्ता विभेद रहन्छन् यसको असर पूरै समाजमा रहन्छ ।’
-कान्तिपुर दैनिक बाट
AUTOR: FIAN MT
I'm just a beginner blogger who tried to learn things related to coding which always appears in front of the eye
0 Comments