No Comment

तल्लो जात भन्दै ७ वर्षीय बालिकाको हत्या

टक सुनार - २०७२ मङ्सिर ८ मंगलबार
रुपन्देही– रुपन्देहीको सुर्यपुरा गाविस वडा नं.५ मा आफ्नो घरमा टिभी हेरेको निहुँमा ७ वर्षीया एन्जल दर्जीको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय हरि खत्रीलाई हत्या अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरि पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार अभियुक्त खत्रिले  तल्लो जातको बच्चा बारम्बार घरमा आएको मन नपरेका कारण घाँटी थिची मारेको प्रहरी समक्ष बताएका छन । मंसिर २ गते टिभी हेर्न गएकी बालिकालाई साँझ ७ बजे नजिकै रहेको सिसौ घारीमा लगेर घाँटी थिचेर मारेको र नजिकैको पुरानो खाल्डोमा पुरेको उनले प्रहरीलाई बताएको डिएसपी कार्कीले बताउनु भयो ।

बिषेश सुराकीका आधारमा पक्राउ गरेपछि उनले ७ गते बिहान २ बजे उक्त शव पुरिएको स्थल प्रहरीलाई देखाएका थिए । करणी भएको आशंका गरिएको र पोष्टमार्टम भएपस्चात तथ्य सार्वजनिक गरिने प्रहरी प्रवक्ता कार्कीले बताउनु भयो  । अभियुक्तलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दायर गरि थप कारवाही अगाडि बढाउनका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

No Comment

बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट

शैलेन्द्र महतो/उज्यालो । धनुषा, असार १९ – धनुषामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–१० इच्छापुरकी ५० वर्षकी शिवो देवी महरालाई बोक्सीको आरोपमा गाउँलेले कुटपिट गरेका हुन् ।
छिमेकी कारी चौधरी, प्रलाद चौधरी, बुहारी संगीता चौधरी र कारीकी श्रीमती चन्द्रा देवी चौधरीले बोक्सीको आरोपमा शुक्रबार बेलुका कुटपिट गरेको पीडित महिलाले बताउनुभएको छ । अरुको खेतमा धान रोपाइँ गरी घर फर्किने क्रममा आफ्नी छोरी सरीतालाई बोक्सी लगाएको भन्दै कारी चौधरीका सपरिवार मिलेर कुटपिट गरी मानिसको मलमुत्र खुवाउन खोजेपछि गाउँलेले रोकेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी महराको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
महराको शरीरका विभिन्न भागमा चोट देखिएको छ । महरा एक्लै भएको मौका छोपी चौधरीका सपरिवार मिलेर कुटपिट गर्न थालेपछि गाउँलेले इलाका प्रहरी कार्यालय महेन्द्रनगर सखुवामा खबर गरेका थिए । आरोपितहरुको खोजी गरिएपनि फेला नपरेको इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक नेत्र कार्कीले बताउनुभयो ।
ujyaaloonline.com
No Comment

नेवारको छोरी भगाएको भन्दै दलीत युवक माथी निर्घात कुटपिट


तेज बन,२८ गते , नेवारकी छोरी भगाएर बिहे गरेको भन्दै सोमवार ११ बजे सुनसरीको प्रकाशपुरमा एक दलित युवकमाथी निर्घात कुटपिट भएको छ । एक महिना अघी सुनसरी प्रकाशपुर १ की सुष्मा श्रेष्ठसंग प्रेम बिबाह गरेका प्रकासपुर ६ का अनिल दियालीमाथी केटी पक्षका आफन्तहरुले निर्घात कुटपिट गरेको केटापक्षका आफन्तहरुले बताएका छन ।
घरबाट स्थानीय बजार तर्फ जाने क्रममा साइकलमा आएका २ युवाहरुको समुहले एकाएक कुटपिट गरेको पिडित अनील दियालीले बताए । आफुलाई कुटपिट गर्ने आफनै श्रमितीको भाइ बिजय श्रेष्ठ रहेको उनले बताएका छन । हाम्रो बहिनीमाथी आखा लगाउछस भन्दै दुई युवाहरुको समुहले एकाएक आफुमाथी कुटपिट थालेको पिढित दियालीले बताएका छन । कुटाइबाट दियालीको टाउको र कानमा गहिरो चोट लागेको छ ।
कुटपिटपछि दियाली सहितका स्थानीय अभिभावकहरुले प्रकाशपुर प्रहरीमा उजुरी दिएका छन । कुटपिटबाट घाइते बनेका दियालीको प्रकासपुर स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी प्रकाशपुरका प्रहरी नायव निरिक्षक शुरेन्द्र ढुङ्गेलले बताए । घटना सम्बन्धि जानकारी भइसकेकाले दियालीलाई कुटपिट गर्ने ब्याक्तिहरुको समुहको खोजी कार्य भइरहेको प्रहरी नायव निरिक्षक शुरेन्द्र ढुङ्गेलले बताए ।

purbelinews.com
No Comment

छुवाछुत बिरुद्धको अभियानका प्रणेता सर्वजीत विश्वकर्मा


बाग्लुङ जिल्लामा जन्मीनुभएका सर्वजीत विश्वकर्माले वि.स. १९९७ मा ‘विश्व सर्वजन संघ’ नामको दलित संस्था स्थापना गरी तत्कालिन राज्य र दलित माथिको उत्पीडन बिरुद्ध आवाज उठाउनु भएको थियो । उहाले जिल्लाको गैह्र गाउमा बिश्वकर्मा प्रावि स्थापना पनि गर्नु भएको थियो । हिंन्दु धर्मको आडमा राज्य व्यवस्था र सामाजिक ब्यवस्थाले दलित समुदाय माथि छुवाछुत र विभेद र राज्यमा कुकुर सरहको व्यवहार हुने गरेको छ । कथित उच्च जातमा मानिने ब्राम्हाण क्षेत्री र पछि मगर,गुरुङ्ग बाट पनि दलित समुदायमाथि दासता लादियो । तत्कालिन जिल्ला ,गाउँ पञ्चायत,मुखिया जिम्वालको शाषनमा दलितहरुलाई पानी,पधेरो,जमिन,जंगल जस्ता प्राकृतिक साधन उपयोग गर्न समेत दिइदैनथ्यो ।
बिद्यालय कम थिए ,भएका बिद्यालयहरुमा पनि दलितहरुले पढ्ने लेख्ने अधिकारबाट बञ्चित गरिएको थियो । धारा पानी ,पाटी पौवा र मन्दीर प्रवेशमा बन्देज थियो र ग्रामिण क्षेत्रमा यो अवस्था यद्धपि कायमै रहेको छ । दलित गैरदलित संग शिर ठाडो पारेर बोल्ने ,चर्काे स्वरले बोल्ने अधिकार थिएन । मर्दा शंख फुक्ने,बिबाह ब्रतबन्धमा टोपी र राम्रो कपडा समेत लगाउन नदिने लगाएका खण्डमा कुटपिट र सार्वजनिक बैजती गर्ने अवस्था थियो । सामान्य गल्ती भए पनि दलितलाइ ठुलो सजाए दिइन्थ्यो । अनेक बाहनामा कपाल मुण्डन गरेर सात गाउँ कटाइन्थ्यो ।
। बाहुन क्षेत्रिका घरमा कमारा कमारी बस्ने, हली बस्ने , उनिहरुकै हात हतियार बनाउने, लत्ता कपडा सिलाउने ,दाम्ला छालाका जुत्ता बनाउने र उनिहरुले दिएको एकदुई माना अन्नले जीवन धान्नुपर्ने अबस्था थियो । पढ्न लेख्न र नया कुरा जान्न नपाउने कानुनी अवस्था,कमजोर आर्थिक अवस्था,जल ,जमिन र वनमा अधिकार नभएपछि दलितहरुलाई पिजडामा पारिएको चरा जस्तो बनाईएको थियो ।
बनारसमा संस्कृत पढेर धेरै ज्ञान हासिल गर्नुभएका सर्वजित बिश्वकर्मालाइ भागवत अर्थात संस्कृतमा आचार्य उपाधि प्राप्त भयो र उहा सर्वजित बाट भगत सर्वजित नाम बाट परिचित हुन सफल हुनु भयो ।
सर्वजित बिश्वकर्मालाई दलित आन्दोलनको आरम्भकर्ताको रुपमा लिने गरिएको छ ।
No Comment

दृष्टि नभए पनि पाखुरा त छ


जगदीश रोकाया |
साउन ७ , चैनपुर: बझाङ मेलबिसौना ४ तल्कोटमका दृष्टिविहीन धौले दमाईं गाउँघरमा ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। 
जन्मजात दुवै आँखा देख्न नसक्ने दमाईं गाउँघरमा घर बनाउँदा ढुंगाबालुवा बोक्छन्। उनले बजारमा व्यापारीका भारी बोकेर घरपरिवारको जीवन धान्दै आएका छन्।
२७ वर्षीय अविवाहित धौलेले भारी बोकेर वृद्धा आमा र दाइका छोराछोरी पालिरहेका छन्। चार-पाँच वर्षअघिदेखि ज्यालामा भारी बोकेर गुजारा गर्दै आएका धौले बाटोमा हिँड्दा गाईगोरु, घोडा, खच्चरबाट कुनै अप्ठ्यारो नहोस् भनेर अर्को व्यक्ति साथमा लिन्छन्।
तल्कोटको बजारमा स्थानीय दिनेश सिंहको पसल निर्माणका लागि दैनिक तीन सय रुपैयाँमा ज्यालामा ढुंगा बोक्दै गरेका धौलेले भारी बोक्दा लामो बाटोमा बालबालिकाको सहारा लिने बताए। 'सहारामा हिँडाउने केटाकेटीलाई कमाएको ज्यालाबाट सय रुपैयाँ ज्याला दिन्छु', उनले भने। पैसा पाउने भएपछि बालबालिकाहरू सहयोग गर्न रुचाउँछन्।
दृष्टिविहीन धौलेलाई डोर्‍याउन सहयोग गर्दै आएका कक्षा दुईमा पढ्ने मेलबिसौनाका अर्जुन नेपालीले भने, ‘धौले काकालाई सहयोग गर्दा हामीलाई पनि फाइदा भएको छ।'
विद्यालय छुट्टी हुने दिन बालबालिकाहरू धौलेलाई सोध्छन्, 'आज काम कता छ, अंकल ? ' दुवै आँखा नदेख्ने धौलेले गाउँघर र स्थानीय बजारमा ज्यालामजदुरी गरेर खाएको देख्दा हेर्दै स्थानीय उनको प्रशंसा पनि गर्छन्।
‘धौले काकाको आज काम कता छ भनेर हामी सोध्छौं', धौलेको सहयोगी बन्न रुचाउने अर्जुनले भने, 'शनिबार त म डोर्‍याइदिन्छु भन्ने साथीहरूको समेत होडबाजी हुन्छ।'
बोलीचाली र कुराकानी राम्रै गर्ने तर लेखपढ गर्न नसक्ने धौलेका तीन दाजुभाइ छन्। उनका जेठा दाजु भारतमा चौकीदारी गर्छन्। ‘घरमा बूढी आमा छिन्, परिवार पाल्नैपर्‍यो', उनले भने, 'घर खर्चका लागि भारी बोक्छु। पेट पाल्नैपर्‍यो।'
धौलेले लठ्ठी र बालकको सहाराले आधा घन्टा हिँडेर तल्कोटको खौलामा ढुंगामाटो ओसार्दै आएका छन्। 'मैले अहिलेसम्म ज्याला गरेर २०-३० हजारसम्म कमाइसकें होला,' धौलेले भने, 'कमाएको पैसाले खाने अन्न किन्छु। आमाको औषधिमा पनि खर्च गर्छु।'
आँखा नदेखेर लठ्ठी र अर्को व्यक्तिको सहारामा ज्यालामजदुरी गर्दा धेरै दुःख हुने गरेको सुनाउँदै धौलेले भने, 'सरकारले मजस्तालाई सीप सिकाउने तालिमको व्यवस्था दिए काम गरिखान सजिलो हुन्थ्यो।'
स्थानीय नन्दकृण जोशीका अनुसार दृष्टिविहीन धौलेले भारी बोकेर घरपरिवारको खर्च जोहो गर्दा आँखा हुनेहरूलाई काम गरेर खान प्रेरणा मिलेको छ।
annapurnapost.com
No Comment

इतिहासले बिर्सिएको एक देशभक्त – बाङ्गे सार्की

घटना विसं १८६६ तिरको हो, जुनबेला अङ्ग्रेज फौजले नेपाल आक्रमण गर्ने योजना बनाइरहेको थियो । उसबेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन नसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए ।
त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने बाटो आफ्नो फौजलाई देखाइ दिन भन्दै घर, पैसा जे मागे पनि दिने प्रलोभन देखाए ।
तर गरिबीमा जति पिल्सिए पनि देशभक्ति भन्दा ठूलो अरु केही नदेख्ने नेपाली सपुत बाङ्गेले तुरुन्तै जवाफ फर्काए– ‘‘देशको बेइज्जत हुने काम म बाट कदापि हुन सक्दैन, तिम्रा सम्पत्ति मलाई चाहिन्न ।’’
आशा गरेभन्दा बिल्कुलै उल्टो जवाफ उनीबाट आएपछि रिसले चुर भएका अङ्ग्रेज अफिसरले तुरुन्तै बाङ्गेको ज्यान लिन आदेश थिए । उनलाई अङ्ग्रेज फौजले तत्काल त्यही ज्यान लिएका थिए । बाङ्गे उसबेला घरायसी सामान लिन जाने क्रममा नेपालको सिमाना नजिक रहेको भारतको बेतिया सहरमा पुगेका थिए ।
बाङ्गेले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठाने र बाङ्गेले त्यही प्राणको आहुती दिए । नेपालको सार्वभौमसत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्गे एक प्रतिनिधि पात्रमात्र हुन्, जसकाबारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन् ।
विसं २०५३ जेठमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले प्रकाशन गरेको ‘नेपालमा जातीय छुवाछूत’ नामक पुस्तकको पृष्ठ ६२ मा ‘नेपालको राजनीतिमा उत्पीडित जातिको सहभागिता’ शीर्षकको लेखमा बाङ्गेका बारेमा एक अनुच्छेद उल्लेख गरिएको छ । नरनाथ लुइँटेल, माधवपन्थी, पद्मलाल विश्वकर्मा र रविमान लम्जेलले सम्पादन गर्नुभएको सो पुस्तकमा बाङ्गे कुन जिल्लाका थिए भनेर उल्लेख भने गरिएको छैन् । यस पुस्तकका सम्पादक पद्मलाल विश्वकर्माले बाङ्गे तनहका भएको राससको जिज्ञासामा बताउनुभयो ।
त्यसैगरी तत्कालीन नेकपा(माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाको विसं २०६२ पुस २७ देखि माघ १ गतेसम्म भएको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदनमा पनि एक अनुच्छेद उल्लेख गरिएको छ, तर त्यहाँ पनि उनी नेपालको कुन जिल्लाका थिए भन्ने कुुरा उल्लेख गरिएको छैन् ।
उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवा नै स्पष्ट हुन सकेका छैनन् । एकीकृत नेकपा(माओवादी) का नेता शङ्कर दुलाल, नेकपा–माओवादीका नेता पर्शुराम रम्तेल, सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्मालगायको भनाइमा बाङ्गे गोरखा जिल्लाका थिए ।

दलित आन्दोलनका अगुवा विनोद पहाडी सम्पादक रहेको ‘नेपालीमञ्च’ २०६३ सालको भदौ महिनाको अङ्कको मध्यपृष्ठमा काले सार्की, विसे नगर्ची, जसवीर कामी, मणिराम गाइने र बाङ्गे सार्की समकालीन भएको उल्लेख गरिएको छ । काले सार्की, विसे नगर्ची, जसवीर कामी र मणिराम गाइने गोरखाको भएको र बाङ्गेकै समकालीन भएको हुँदा बाङ्गेको जिल्ला पनि गोरखा नै हुनसक्ने सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्माको अनुमान छ ।
बाङ्गेपछि आफू करिब १२/१३ औँ पुस्ता भएको दाबी गर्ने कञ्चनपुर–१ दैजीका नन्दसिंह सार्कीलाई उनका पुर्खाले भनेअनुसार बाङ्गेको जिल्ला सुदूरपश्चिमको कैलाली भएको बताउनुभयो । उहाँले भन्नुभयो,–“बेतियामा बाङ्गेलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटकपटक सोध्दा पनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुईवटा हातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो, तर मसँग कुनै लिखित दस्तावेज छैन् ।”
बाङ्गे सार्कीका बारेमा इतिहासविद् डा त्रिरत्न मानन्धर, तुल्सीराम वैद्य, प्रा दिनेशराज पन्त, डा दिनेशचन्द्र रेग्मीसमक्ष जिज्ञासा राख्दा ‘इतिहासमा कहीँकतै नाम नसुनेको’ जानकारी दिनुभयो । विसं १८७१ मा नेपाललाई अङ्ग्रेजले आक्रमण गरेको समयको वरिपरि भएको हुँदा बाङ्गेलाई त्यही समयमामा मारिएको हुनसक्ने अनुमान इतिहासकारहरुको छ ।
त्यसैगरी डा राजेश गौतम र प्राडा सुरेन्द्र केसीले बाङ्गेको बारेमा कतै पत्रपत्रिका र पुस्तकमा पढ्न पाएको तर उनको बारेमा विरलै सुन्ने गरेको बताउनुभयो । दलित आन्दोलनका अगुवा पदम सुन्दास, तिलक परियार, जीवन परियारलगायतले घटना वास्तविक भएको तर सम्पन्न वर्ग, सत्तापक्ष र गैरदलितले गरेको योगदानमात्र गनिने र इतिहास लेखिने हुँदा बाङ्गेका बारेमा इतिहास नलेखिएको भन्दै गुनासो गर्नुभयो ।
पदम सुन्दासले भन्नुभयो– “पुर्खाले विभिन्न कालखण्डमा इतिहासको मागअनुसार देश बचाउन बलिदानी गरेको हुँदा आज हामी वीर नेपाली भनेर संसारभरी चिनिएका छौँ, त्यसैले खोजीनीति गरेर पुर्खाको इतिहास जिवित राख्नुपर्छ ।”
दलित समुदायका राष्ट्रप्रेमी व्यक्तित्व बाङ्गेका बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैरसरकारी सङ्घ/संस्थाले वा दलित अन्दोलनले अहिलेसम्म कुनै खोजीनीति गरेका छैनन् ।
उनको बारेमा पछिल्लो पटक सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले उनको खोजीनीति गरी प्रथम राष्ट्रिय वीर सहिद घोषणा गर्नुपर्ने माग गर्र्दै प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाइ सकेपनि अझसम्म कुनै सुनुवाइ हुन सकेको छैन् ।
केन्द्रीय कमिटीका अध्यक्ष जेवी धौलाकोटीले यति ठूलो स्वाभिमान भएका उनी कुन जिल्लाका थिए ?, उनका सन्तान कहाँ छन् ?, सन्तानलाई राज्यले के दियो बन्नेबारेमा राज्य र सरकारले खोजी गर्नुपर्ने माग गर्नुभयो ।
नेपाली दलित आन्दोलनमा मात्र नभई सिङ्गो नेपालको राष्ट्रियताकै आन्दोलनमा बाङ्गेलाई सम्मान गर्न सकिएन भने नेपालको इतिहास अधुरो रहने छ । यसप्रति राज्य, इतिहासकार, दलित हितसम्बन्धी सङ्घसंस्था, स्वयम् दलित समुदाय र समस्त देशभक्त स्वाभिमानी नेपाली जनता सचेत र सक्रिय हुन जरुरी छ । रासस
No Comment

‘भागी विवाह’ गरेको सात दिनपछि युवकले थाहा पाए युवती त दलित रहिछिन्

महोत्तरी, साउन १४ –  ‘हाम्रो भेटघाट भएको ६ दिन मात्र भयो । फोनमा कुरा भने पहिल्यैदेखि हुन्थ्यो । बगाले थापाकी छोरी हुँ भन्थी । हामी दुवैले एक अर्काको अनुहार देखेका थिएनौं । फोनमा कुरा गर्दा मन पर्‍यो । मैले विवाह गरौं, सँगै बसौं भनें । उसले पनि हुन्छ भनी । हामी भाग्यौं । तर बुझ्दै जाँदा यो त बिक पो रैछे । पछि थाहा भयो । अब म कुनै पनि हालतमा यसलाई विवाह गरेर घरमा भित्र्याउन सक्दिन’ सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा भएको छलफलमा दलित युवतीबाट आफूलाई छुटकारा दिन एक युवक समाज र प्रशासनलाई आग्रह गर्दै थिए । तर सँगै रहेकी युवती भने युवकले झुट बोेलिरहेको भन्दै उसको कुरा नपत्याउन भन्दै थिइन् ।

‘घरबाट भाग्नु अघि नै मैले म बिककी छोरी हुँ, पछि तल्लो जातकी भनेर यस्तो उस्तो भन्न पाउनु हुन्न भनेकी थिएँ’ युवतीले युवकतिर आँखा तर्दै भनिन् ‘मैले यसलाई म बगाले थापा हो भनेकै छैन । यो झुट बोल्दैछ । यसले मलाई जातभातको मतलब छैन, प्रेममा जातभात हुँदैन, तिमी भए मलाई पुग्यो, मैले घरमा आमाबुवासँग कुरा गरिसकेको छु, तिमीलाई घर लगेर भित्राउन मलाई कुनै समस्या छैन भनेर फकायो, अनि मात्र म उसँग भागेकी हुँ ।’
सर्लाहीको हरिवन नगरपालिका २ निबासी १७ वर्षिय हिमाल कार्की र हरिवन ३ निबासी १८ वर्षिया बिना विक आफूहरुबीचको प्रेम सम्बन्ध र भागी विवाहबारे समाज र प्रशासनलाई स्पष्टीकरण दिंँदै थिए । कसैले दिएको मोवाइल नम्बरमा सामान्य कुराकानी भएकै भरमा एक अर्कालाई मन पराएका उनीहरु यहि साउन ६ गते घर छाडेर भागेका थिए ।
तर एकअर्काबाट कहिल्यै नछुट्टिने, जीवनभरी सँगै बाँच्ने सँगै मर्ने कसम खाएर भागेका उनीहरुको प्रेम सम्बन्ध भने एकहप्ता पनि टिकेन । आफन्तको र आफ्नो घरमा गरेर ६ दिनसम्म युवतीलाईसँगै राखेका कार्कीले जब युवती दलित भएको थाहा पाए, तब घरबाट निकाले । युवती पनि के कम, उनी न्याय खोज्दै प्रहरी कार्यालय पुगिन् ।
इलाका प्रहरी कार्यालय हरिवनले दुबै पक्षलाई छलफलमा बोलायो । छलफलमा सहभागी सबैले जातको आधारमा युवतीलाई घर निकाला गर्न नपाईने भनेर दबाब दिएपछि युवक आफूले मन पराएकी दलित युवतीलाई फेरि घर भित्र्याउन बाध्य भएका छन् । प्रशासनिक र सामाजिक दबाबपछि युवकले युवतीलाई घर भित्राउने, आइन्दा कुनै पनि प्रकारको भेदभाव नगर्ने भने पनि उनीहरुको सम्बन्ध लामो समय टिक्नेमा सबैलाई शंका छ ।
छलफलमा सहभागी इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शेरबहादुर चन्दले युवायुवती दुबैको विवाह गर्ने उमेर नपुगे पनि दलित र गैर दलितबीचको अप्ठ्यारो माम्लो भएकाले दुवैैलाई सँगै बस्न आग्रह गरिएको बताउनुभयो । ‘हामीले केटा पक्षलाई दलित भएकै आधारमा युवतीलाई भेदभाव नगर्न सम्झाएका छौं’, चन्दले भन्नुभयो । तर उनीहरुको सम्बन्ध कति टिक्छ, कसैलाई थाहा छैन 

-उज्यालो 



Blog Archive

Blogger templates